नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।
ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) को कार्यालय पुगेकी अभिनेत्री दीपिका पादुकोणले बाहिरिएको ह्वाट्सएप च्याट आफ्नो भएको स्वीकार गर्दै च्याटमा प्रयोग भएका कोड शब्दको खुलासा गरेकी छन् । एनसीबीले गत शनिबार दीपिकासहित सारा अली खान र श्रद्धा कपुरलाई ड्रग प्रकरणमा बयानका लागि बोलाएको थियो ।
बयानका क्रममा दीपिकाले आफ्नो च्याटमा उल्लेख गरिएका शब्दहरुको अर्थ एनसीबीका अधिकारीहरुलाई बताएकी छन् । आफुले ड्रग नलिएको बताउँदै दीपिकाले २०१७ को आफ्नो ह्वाट्सएप च्याटमा उल्लेख भएको माल शब्दको अर्थ सिगरेट भएको बताएकी छन् । एनसीबीको मालको अर्थ के हो भन्ने प्रश्नमा दीपिकाले आफुहरुले सिगरेटलाई माल भन्ने गरेको बताउँदै तपाइँहरुले सोचेको जस्तो मालको अर्थ नभएको बताएकी छन् ।
मिडिया रिपोर्टसका अनुसार दीपिकाले सिगरेटको कोड शब्द माल भएको बताएकी छन् । त्यस्तै च्याटमा उल्लेख भएको ह्यासको अर्थ बिडी या अन्य ब्राण्डको सिगरेटलाई ह्यास कोड प्रयोग गर्ने बताएकी छन् । दीपिकाले आफ्नो जवाफ थप स्पष्ट गर्दै पातलो आकारको सिगरेट र मोटो सिगरेट, बिडीलाई आफुहरुले फरक फरक कोडमा बोल्ने गरेको बताएकी छन् ।
यति मात्र होइन दीपिका यस बाहेकका अन्य कोड शब्दको बारेमा एनसीबीका अधिकारीहरुलाई जानकारी दिएकी छन् । उनले आफुहरुले यस्ता च्याटमा कैयौं कोड शब्दको प्रयोग गर्ने बताउँदै पनिर, क्विकी, म्यारिज जस्ता कोड प्रयोग गर्ने बताइन । दीपिकाले पनिर दुब्लो पातलो मानिसलाई भन्ने गरेको बताइन भने छोटो सम्बन्धका लागि क्विकी र लामो सम्बन्धका लागि म्यारिज शब्द प्रयोग गर्ने बताएकी छन् ।
दीपिकाकी म्यानेजर करिश्मा प्रकाशले दिएको बयान र दीपिकाले दिएको बयान मिलेकाले अब एनसीबी ड्रग प्रकरणमा के गर्ने भन्ने अन्योलमा परेको बताइएको छ । एनसीबीसँग च्याटका लावा अन्य प्रमाण नरहेकाले अब यो प्रकरणमा अगाडी बढ्न मुश्किल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
शनिबार बयान दिएका अन्य अभिनेत्री श्रद्धा र साराले पनि आफुहरुले ड्रग नलिएको बयान दिएका छन् ।