नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा भएको घटनाको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार सिंहदरबारस्थित कार्यकक्षमा बझाङ जबरजस्ती करणी घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदूरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताएका हुन् ।
सो घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन आफूले सक्नेजति सहयोग गर्ने उनले बताए । यस्ता समाजलाई नै अतिरन्जित गर्ने घटनाले राज्यलाई चुनौती दिएको उनले उल्लेख गरे । बझाङबाट प्रतिनिधिसभा सदस्य आशा कुमारी वि.क. लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको जबरजस्ती करणीपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।
गत असोज ७ बुधबार बझाङको मष्टा गाउँपालिका–२ खिकालकी १२ वषीया सम्झना कामीको बलात्कारपछि हत्या भएको खुलेको छ । उनको हत्यामा संलग्न रहेका राजेन्द्र बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
