नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

नेपालको चीनसँगको व्यापारिक तातोपानी नाका आगामी असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । मंगलबार सिन्धुपाल्चोकमा नेपाल र चिनियाँ पक्षबीच भएको द्विपक्षीय बैठकले उक्त निर्णय गरेको हो । नेपाल र चीनबीचको महत्वपूर्ण व्यापारिक नाका मानिने चिसोपानी नाका लामो समयदेखि बन्द रहेको थियो ।
असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
दुई पक्षीय बैठकमा नेपालतको तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र चीनको तर्फबाट ल्हासाका अधिकारीको सहभागिता रहेको थियो । लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा रहेका सामान थन्किएको थियो ।
व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए ।
