सफल मन्त्रीलाई हटाउँछन्, असफललाई बोक्छन्, ओली पछुताउने दिन छिट्टै आउँछ : लालबाबु पण्डित

मन्त्रीको रुपमा विदेश बस्ने डिभी, पीआरधारी कर्मचारीको दोहोलो काढेर वाहवाही कमाएका लालबाबु पण्डित पछिल्लो कार्यकालमा भने त्यति जम्न सकेनन् । कारण हो, प्रत्येक मन्त्रालयमाथि प्रधानमन्त्री सचिवालयको हस्तक्षेप । फलतः लालबाबुले गत वर्षको क्याबिनेट पुनर्गठनसँगै मन्त्री पदबाट बिदा लिए । आफूले कार्यसम्पदानमा उच्च अंक ल्याएर पनि मन्त्रिपरिषद्मा हटाइएकोमा पण्डितले आक्रोश व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीज्यूसँग जिन्दगीमा कहिल्यै सोध्नेवाला छैन कि मलाई के कारणले हटाइयो ? प्रधानमन्त्री कार्यालयले नै म हटेको एक हप्तापछि राष्ट्रिय योजना आयोगमा कार्य प्रगति प्रस्तुत गर्दा दोस्रो नम्बरमा मेरो मन्त्रालय थियो । मेरो मन्त्रालयले सयमा ८६ अंक ल्यायो । त्यो रिपोर्टले मलाई असफल भन्छ त ? यो भनेको डिष्टिङ्कसन नम्बर हो । डिष्टिङ्सनलाई फेल भन्दैनन् । यसरी कार्यसम्पादनमा सर्वोत्कृष्ट ल्याउने मन्त्रीलाई हटाउने र फेल हुनेहरुलाई बोक्नेहरुले एकदिन पछुताउने छन् ।



तपाईं हेर्दै जानुस् ! विभिन्न शक्तिकेन्द्रको नामसँग जोडेर सामान्य पास अंकसमेत ल्याउन नसकेकाहरु त्यहीँ रहे । अब के हुन्छ, थाहा छैन यदि मान्यता नदिने भए कार्यसम्पादन मूल्यांकन किन गरेको ? कार्यकुशलता र कार्य जटिलताअनुसार भएको कामलाई राम्ररी विश्लेषण गरिएन । एउटै पार्टीमा भएपछि कोसँग नजिक, कोसँग टाढा ? यस्तो प्रश्न आउँदैन । पार्टीमा गुट–उपगुट मनभित्र कसैलाई होला । मानिसले खोज्ने भनेको परिणाम हो, अनुहार होइन ।

आज राष्ट्रले खोजिरहेको परिणाम हो । परिणाम राम्रो दिनेले नै प्रधानमन्त्री र पार्टीलाई राम्रो बनाउँछ । जनतामा विश्वास बढाउँछ । मुलुकलाई समृद्धिको दिशातिर लिएर जान्छ । कसैको अनुहार वा राम्रो बोल्ने वा लेख्ने मात्र होइन । अहिले प्रधानमन्त्रीज्यूले के गर्नुहुन्छ, त्यो उहाँको कुरा हो । आशा गर्ने हो कि, राम्रो मन्त्रिमण्डल बनाउनुस् । परिणाम जनतलाई दिनुस् । ‘संवृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अभियानमा सफलता प्राप्त होस् भनेर शुभकमाना दिनुबाहेक हामीसँग अरु के छ र ?

खराब इञ्जिन भएको जहाज उड्न लाग्यो भने के हुन्छ ? कहीँ–कतै ल्याण्ङि सही तरिकाले हुँदैन । दुर्घटना हुन्छ । त्यही कारण हामी त चाहन्छौं कि पाइलट कुशल, इञ्जिन असल होस्, अनि यात्रुहरु अनुशासित हुन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।

सम्बन्धित समाचार