अयोध्याधामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा, माडीवासी उत्साहित

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मङ्गलबार बसेको कार्यपालिका बैठकले अयोध्याधाम निर्माणका लागि जमिनको टुङ्गो लगाउँदै १०० बिघा जग्गा छुट्याएको हो । नगरप्रमुख ठाकुरप्रसाद ढकालले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको बताए ।

उनले भने, ‘सो जग्गामा प्राविधिक अथवा अन्य कारणले समस्या भए वडा नं ८ को दक्षिण अयोध्यापुरीमा पनि करिब ५० बिघा जग्गा प्रयोगमा ल्याउन सकिन्छ ।’ यस्तै वडा नं १ को पाण्डवनगर, वडा नं ७ को देवेन्द्रपुर दक्षिण शनिमन्दिर क्षेत्र र वडा नं ९ को गणेशकुञ्जमा समेत जग्गाको व्यवस्था गर्ने निर्णय भएको ढकालले बताए ।



अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भएको भन्दै उनले डीपीआर (विस्तृत आयोजना प्रतिवेदन) निर्माण छिट्टै अघि बढ्ने बताए । ‘प्रधानमन्त्रीको निर्देशनबमोजिम नगरपालिकाले अयोध्याधाम निर्माणका लागि सहजीकरण र व्यवस्थापनको काम निरन्तर गरिरहेको छ’, उनले भने । काम तीव्रताका साथ अघि बढाउन सरकारले बजेटको व्यवस्था गर्नुपर्ने उनले बताए ।

माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले निजी जग्गाहरु उपलब्ध गराउन स्थानीय सबैजना तत्पर रहेको बताए । अयोध्याधाम निर्माण हुने भएपछि सबै माडीवासी उत्साहित भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार