नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफलमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार हुने भनिएको भेटवार्ता एक्कासि स्थगित भएको छ । मंगलबार उनीहरुबीच पूर्वनिर्धारित कार्यतालिकामा नै छलफल हुने तय भएको थियो ।
बुधबारका लागि तय भएको भेटवार्तामा अध्यक्ष दाहाल सहभागी नहुने भएपछि स्थगित भएको बताइएको छ । गत असोज ८ बिहीबारदेखि निरन्तर छलफलमा रहेका ओली–दाहालबीचको भेटवार्ता एक्कासि स्थगित भएसँगै मन्त्रिपरिषद् पुनर्गठन पनि अन्योलमा परेको छ । सो विषयमा उनीहरुबीच सहमति हुन सकेको थिएन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली हालैका मन्त्रीहरुलाई निरन्तरता दिने तर केही मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने र थपिएका मन्त्रालयमा नयाँ मन्त्री थप्ने तयारीमा छन् । तर अध्यक्ष दाहाल भने पुरै मन्त्रिपरिषद् नै फेर्ने तयारीमा छन् । सरकारमा राम्रो कार्यकौशल गर्न नसक्ने मन्त्रीहरुलाई बिदाई गर्नुपर्ने दाहालको स्पष्ट अडान छ ।
गत भदौ २६ गते बसेको पार्टीको स्थायी कमिटी बैठक र असोज ४ गते बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो । यी दुवै बैठकले मन्त्रिपरिषद् पुुनर्गठन गर्ने निर्णय गरेसँगै दुवै अध्यक्ष छलफलमा जुटेका थिए । बुधबार भेटवार्ता स्थगित हुनुको मुख्य कारण भने खुलाइएको छैन् । निरन्तर भएका भेटवार्तामा साझा एजेण्डा तय हुन नसकेपछि अध्यक्ष दाहालले बुधबारको भेटवार्ता अस्विकार गरेको बुझिएको छ ।
