रानीपोखरीमा भोलि गजुर राखिदै

पाँच वर्षअघि भूकम्पले भत्किएर पुनर्निर्माणको अन्तिम चरणमा पुगेको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको गजुर भोलि बिहिबार राखिदै छ । पोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको काम अन्तिम चरणमा पुगेपछि गजुर राख्ने तयारी भएको हो । गजुर राख्नको लागि साइत हेर्नुपर्ने भएकाले भोलिको लागि साइत जुरेको निर्माण कम्पनी सिए तुलसी कन्ट्रक्सनका साइट इन्जिनियर सनम श्रेष्ठले बताए । उनले भने, भोलि बिहान ८ बजेको साइत छ ।

गजुर राखिसकेपछि मन्दिरको काम लगभग सकिन्छ, लाइट र सर सफाईको काममात्र बाँकी हुन्छ । मल्लकालिन शैलीमा बन्दै गरेको रानीपोखरी केही दिनभित्रै सकिनेछ । रानीपोखरीको परिसरमा बगैचाको काम भने अझै सकिएको छैन । हालसम्म पोखरी र मन्दिरकोलागि २३ करोड खर्च भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।



रानीपोखरी पुरानै स्वरुपमा फर्किएको छ । भूकम्पपछि अलपत्र परेको रानीपोखरी विवादकै बीच पुरानो स्वरुपमा फर्किएको हो । प्राधिकरणले पोखरीको पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको थियो भने बालगोपालेश्वर र बगैचाको काम ठेक्का मार्फत सिए तुलसी कन्ट्रन्सनलाई दिइएको थियो । पोखरी र पर्खालको काम सकेर पानी भर्ने काम सकिएपनि मन्दिरको काम भने अन्तिम चरणमा पुगेको छ । पोखरीमा पानी भर्ने काम सकिएपछि प्रताव मल्लकै पालाको रानीपोखरी सर्वसाधरणले देख्न पाएका छन् ।

सम्बन्धित समाचार