प्रचण्ड र नेपाल समूहमा खेल्दै ओली, फोन गर्दै भनियो मन्त्री बन्ने भए क्याम्प चेन्ज गर्नुहोस्

फेर्ने मन्त्री र नयाँ नियुक्त गर्ने मन्त्रीमा सहमति जुट्न नसकेपछि नेकपा सचिवालय बैठकले अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रिपरिषद् पुर्नगठनको जिम्मेवारी सुम्पिएको थियो । पछिल्लो साता ५ पटकसम्म भेटवार्ता गरेर ओली र प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठनमा सहमति खोज्ने प्रयास गरे । तर ओली आफ्नो अडानबाट पछि नहट्दा त्यसले ठोस रूप लिन सकेको छैन । हिजो छलफलमा जुट्ने पूर्वतालिका भए पनि प्रचण्डले ओलीसँग वार्तामा बस्न नचाहेको सन्देश पठाए । फलतः मन्त्रिपरिषद् पुर्नगठन अलपत्रमा पर्ने देखिएको छ ।

प्रचण्डले ओलीलाई सबै मन्त्रीको राजीनामा मागेर आवश्यकताको आधारमा केहीलाई दोहोर्याउदै अधिकांश नयाँ नेतालाई मन्त्री बन्ने अवसर दिनुपर्ने बताउँदै आएका थिए । तर ओलीले त्यसको विपरीत खाली रहेका ३ मन्त्रालय र टुक्राएर आउने ३ गरी ६ जना मन्त्री थपेर अगाडि बढ्नुपर्ने अडान राखिरहे । अन्ततः उनीहरूबीच थप ६ मन्त्रीलाई राजीनामा गराएर १२ मन्त्री थप्नेसम्म समझदारी बनेको थियो । तर थप्ने नयाँ मन्त्रीमा सहमति नजुटेपछि प्रचण्डले वार्तामा रूची देखाउन छोडेका हुन् ।



ओलीले आफ्नो अडान नछोडेमा फेरि सचिवालयमै लगेर मन्त्रिपरिषद् पुर्नगठनको विषयको हल गर्ने चेतावनी हिजो प्रचण्डले फोनबाटै ओलीलाई दिएका थिए । सचिवालयमा ओली अल्पमतमा रहेकोले आफ्नो फेवरको निर्णय निकाल्न सजिलो हुने भन्दै प्रचण्ड भने फेरि सचिवालयमै लगेर ओलीलाई घेराबन्दी गर्ने योजनामा रहेको स्रोतको दाबी छ । वरिष्ठ नेताद्वयले झलनाथ खनाल र माधव नेपालले पनि समय लिएर सचिवालयमार्फत नै नयाँ मन्त्री र राजीनामा मागिने मन्त्रीको छिनोफानो गर्नुपर्ने दवाव दिन थालेका छन् । ओलीले एकोहोरो ढिपी नछोडेपछि सचिवालयले हस्तक्षेप गर्नुको विकल्प नरहेको उनीहरू बताउँदै आएका छन् ।

प्रचण्ड र नेपाल गुटमा खेल्दै ओली
नेकपाको जारी विवादको अन्त्य भएको भनिए पनि यो समयलाई प्रधानमन्त्री ओलीले शक्ति सञ्चयको रूपमा प्रयोग गरिरहेका छन् । पार्टीको सबै कमिटीमा अल्पमतमा परेपछि प्रचण्ड नेपाल समूहले पेलेको परिस्थिति बिर्सन नसकेका उनले आफुइतरका नेताहरूलाई आफ्नो क्याम्पमा ल्याएर उल्टो प्रचण्ड नेपाललाई पेल्ने रणनीतिमा छन् । मन्त्रिपरिषद् पुर्नगठनको चर्चा चलेदेखि नै प्रचण्डसँग रूष्ट बनेर आफ्नो समर्थन गरेका गृहमन्त्री रामबहादुर थापा र उघोगमन्त्री लेखराज भट्टलाई ढाडस दिँदै आएका ओलीले उनीहरूको पद सुरक्षित राख्न अन्तिमसम्म प्रयासरत छन् । ओलीको यो व्यवहारबाट थापा र भट्ट स्थायी रूपमै ओली क्याम्पमा रहने निश्चित देखिएको छ ।

अब ओलीको टार्गेटमा प्रचण्ड नेपाल समूहमा असन्तुसष्ट रहेका अन्य नेताहरू परेका छन् । उनले आफ्ना सहयोगीमार्फत फोन गरेरै मन्त्री बन्नेभए क्याम्प परिवर्तन गर्न आग्रह गर्ने गरेको स्रोतले बतायो । माधव नेपाल समूहका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले त सार्वजनिक रूपमा नै बालुवाटारबाट मन्त्री बन्ने अफर आएको बताइसकेका छन् । क्याम्प चेन्ज गरेमा अर्थमन्त्री बनाउन पनि कुनै समस्या नरहेको भन्दै बालुवाटारबाट फोन आएको उनले बताउने गरेका छन् ।

यता पूर्व माओवादीमा रहँदा बाबुराम भट्टराई निकट रहेका तोपबहादुर रायमाझी र देवेन्द्र पौडेल पनि ओलीको निशानामा परेका छन् । उनीहरूलाई पनि विभिन्न माध्यमबाट क्याम्प परिवर्तन गरेमा मन्त्री पद सुनिश्चित गरिदिने आश्वासन दिने गरिएको छ । ओली आफ्नो समूहमा खेल्न थालेको सुइँको पाएपछि प्रचण्डले हिजो बालुवाटारमा तय भएको ओलीसँगको वार्त छोडेर आफूनिकटका नेताहरूसँग परामर्शमा जुटेका थिए ।

सम्बन्धित समाचार