कोरोनाबाट पहिलोपल्ट चिकित्सकसहित थप ११ जनाको मृत्यु, मृत्तक संख्या ५०९ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलोपल्ट डाक्टरको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक डाक्टरसहित थप ११ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ । ६ वटा जिल्लाका एक महिला र १० पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुनसरीमा ५६, ५० र २७, काठमाडौंमा ७८ र ६८, भक्तपुरमा ६८, ललितपुरमा ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेमा ३४ वर्षीया महिला, रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।



२ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो । बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिएका छन् । यसअघि बुधबार नेपालमा ७ जनाको मृत्यु भएको थियो । नेपालमा हाल कुल मृत्युदर शुन्य दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार