नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असाेज ।

नेपाल सरकारले करको दर घटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु घटाउने निर्णय गरेको हो। यस्तै सरकारले अन्तशुल्क समेत घटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले करका दर र अन्तशुल्क घटाउने निर्णय भएको र निर्णयअनुसार आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा गएको बताए ।
यसैगरी बैठकले मुख्य सचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नयाँ मुख्यसचिव शंकरदास वैरागीलाई बनाइएको छ । उनी हाल परराष्ट्र मन्त्रालयका सचिवका रुपमा कार्यरत थिए ।
यसैगरी बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । जसअनुसार पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिकाका लागि आवासीय राजदूत पदमा सिफारिस गरिएको छ ।
यस्तै मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत सिफारिस गरिएको छ । त्यस्तै डा निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरिएको छ ।
