नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असाेज ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीभित्र नयाँ विवादको सुत्रपात गरेका छन् । मन्त्रिपरिषद् पुर्नगठनमा सहमति जुटाउन नसकिरहेको बेलामा हिजो एकाएक पार्टी नीतिविपरीत एकलौटी रूपमा ३ महत्वपूर्ण नियुक्ति गरेर आफू इतरका शक्तिहरूलाई पेलेरै जाने सन्देश प्रवाह गरे । ओलीको पछिल्लो निर्णयले पार्टीभित्रका ओलीइतरका शक्तिहरु सशंकित भएका छन् । उनीहरूले गोली प्रवृत्तिको अन्त्य नभएको भन्दै नयाँ रणनीति तय गर्न जुटिसकेका छन् ।
ओलीले हिजो बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामा स्वीकृत गरेर नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेका थिए । यस्तै राजीनामा दिएका रेग्मीलाई बेलायतको राजदूत बनाइएको छ भने पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाइएको छ । पछिल्लो एक सात मन्त्रिपरिषद् पुर्नगठनका विषयमा सहमति जुटाउने निरन्तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरिरहेका ओलीले उनै प्रचण्डले सुइकोसम्म नपाउनेगरी यस्तो निर्णय लिएका थिए । ओलीको पछिल्लो कदमले प्रचण्डलाई कार्यकारी अधिकार अक्षरमा मात्र दिइएको सन्देश ओलीले दिन खोजेको चर्चा छ ।
ओलीले एकलौटी नियुक्ति गर्न थालेपछि पार्टीका अधिकांश नेताहरू उनीसँग अषन्तुष्ट देखिएका छन् । नेकपा स्थायी समितिको भदौ २६ गते बसेको बैठकले पार्टीको सबै कामको जिम्मेवारी सहितको कार्यकारी अधिकारसहित प्रचण्डले पार्टी काममा ओलीसँग सल्लाह गर्ने र ओलीले सरकार सञ्चालनका महत्वपूर्ण निर्णयहरु प्रचण्डसँगको परामर्शमा गर्नेे निर्णय गरेको थियो । पार्टीको सो निर्णयलाई रद्दीको टोकरीमा मिल्काउदै ओलीले पार्टी सहमतिको वातावरण बिगारेका छन् । उनी इतरका शक्तिले तत्काल सचिवालय बैठक बोलाएर ओली प्रवृत्तिको विरोध गरेर उचित निर्णय लिन दवाव दिइरहेका छन् ।
प्रचण्ड-नेपाल फोनवार्ता
ओलीले एकाएक पार्टी सहमति तोठेर नियुक्ति गर्न थालेपछि हिजो प्रचण्ड र माधव नेपालबीच फोनवार्त भएको खुमलटार स्रोतले जनायो । उनीहरूबीच आज भेटवार्ता गरेर नै ओलीविरुद्ध नयाँ रणनीति तय गर्ने भएका छन् । वार्ताको क्रममा प्रचण्डले प्रत्येक दिन भेटवार्ता भैरहँदासम्म आफूलाई सुइँकोसमेत नदिएर नियुक्ति गरेको भन्दै आक्रोश पोखेका थिए । ‘पार्टीले जतिसुकै सहमतिको कुरा गरे पनि नीति नियमका कुरा गरे पनि, सुशासनको कुरा गरे पनि त्यो ओलीको हकमा लागू नहुने भयो । म त नाममात्रको कार्यकारी अध्यक्ष हुने भएँ । यसरी त पार्टी अगाडि बढाउन सकिँदैन कम्रेड, ओलीविरुद्ध निर्मम भएर लाग्नुपर्ने भयो’ फोनवार्तामा नेपालसँग प्रचण्डले भनेका थिए ।
जवाफमा नेपालले ओलीलाई आफूले जे गरे पनि सरकारबाट हटाउन सक्दैनन् भन्ने भ्रम भएको बताएका थिए । नेपालले अगाडि भने ‘ओलीलाई मैले लामो समयदेखि झेलेको छु । उनको बानीबेहोरा तपाईलाईभन्दा मलाई राम्रोसँग थाहा छ । उनलाई आफूबाहेक अरूलाई नेता नै मान्दैनन् । जतिसुकै सहमति गरेपनि ओली सुध्रदैनन् । बरू प्रधानमन्त्रीको विकल्प खोज्नपट्टि लागौं कम्रेड ।’ उनीहरुबीच आज भेटवाटर्ता गरेर सचिवालयमार्फत ओलीलाई घेराबन्दी गर्ने समझदारी भएको बताइन्छ ।
ओलीको पछिल्लो नियुक्तिलाई लिएर वरिष्ठ नेता झलनाथ खनालले पनि सार्वजनिक रूपमै असन्तुष्टि जनाइसकेका छन् । त्यसैगरी नेता भीम रावलले पनि ओलीप्रति आक्रोश पोखेका छन् । पछिल्लो समय मन्त्री बनाउने विषयमा उपाध्यक्ष वामदेव गौतमसँग पनि ओलीको दुरी बढेको छ । पार्टीको सबै कमिटीमा अल्पमतमा रहेको बेलामा पार्टी सहमति तोडेर ओलीले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने काम गरेको राजनीतिक विश्लेषकहरू बताउछन् ।
