नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।

म्याद नाघेका वस्तु बिक्री प्रकरणमा प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुप तानिएको छ । म्याद गुज्रेका खाद्य वस्तुमा रिलेबलिङ गरी बजारमा पुनः बिक्री गर्न पठाउने धन्दामा विशाल ग्रुप तानिएको हो । म्याद सकिएका चकलेट, चिप्स, जुसको धुलो लगायतमा भइरहेको रिलेबलिङमा संलग्न दुई कम्पनीको कारोबार विशाल ग्रुपसँग देखिएकोले यो प्रकरणमा विशाल ग्रुप तानिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बिहीबार कलंकी क्षेत्रका तीनवटा घरमा छापा मार्दा उपभोग्य मिति सकिएको बोर्नभिटा, स्निकर चकलेट, ट्याङ जुस, प्रिंगल्स चिप्स लगायतमा रिलेबलिङ गर्दै गरेको फेला पारेको थियो ।
अनुगमनमा गएको संयुक्त टोलीले आयान डिस्ट्रिब्युटर्स प्रालि नामको कम्पनीले भाडामा लिएको दुईवटा र अमेजन डिस्ट्रिब्युटर्स प्रालिले भाडामा लिएको एक घरमा चकलेट, जुसको धुलो, बिस्कुट, चिप्स लगायत खाद्य वस्तुमा कम्पनीले छापेको मिति हटाएर नयाँ मिति प्रिन्ट हुँदै गरेको भेटेको थियो । प्रहरीका अनुसार मेसिननै राखेर अवैध धन्दा भइरहेको घरमा म्याद गुज्रेका सामान भेटाएपछि त्यहाँबाट तीनवटा गाडीसहित आठजनालाई पक्राउ गरेको छ ।

