नेकपामा फेरि उठ्न थाल्यो ओलीको राजीनामाको माग, प्रचण्ड-नेपाल समूहको यस्तो तयारी

विवादको लामो श्रृङ्खला पार गर्दै अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन गर्दै सहमतिको बाटो तय गरेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि विवादको भुमरीमा फस्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले हालै स्थायी समितिले पारित गरेको कार्यविधि लत्याउँदै एकतर्फी रूपमा ३ महत्वपूर्ण नियुक्तिको सिफारिस गरेपछि नेकपाभित्रको सहमति धरापमा परेको हो । स्थायी कमिटीको पछिल्लो बैठकले अध्यक्षद्वयको कार्यविभाजनको क्रममा स्पष्ट रूपमा ओलीले पूरा कार्यकाल सरकार सञ्चालन गर्ने तर महत्वपूर्ण निर्णय लिंदा र नियुक्तिका विषयमा पार्टी कमिटीमा छलफल गरेपछि मात्र निर्णय लिने उल्लेख छ ।

यता अर्का अध्यक्ष पुष्पकमल दाहालको अधिकारका विषयमा पनि सो बैठकले स्पष्ट पारेको थियो । कार्यकारी अधिकारसहित पार्टी सञ्चालन गर्ने र महत्वपूर्ण निर्णय र नियुक्तिका विषयमा प्रधानमन्त्रीलाई सघाउने अधिकार प्रचण्डलाई दिइएको छ । तर ओलीले निरन्तर भेटघाट भैरहेको अवस्थामा प्रचण्डलाई सुइँको समेत नदिई भटाभट नियुक्ति गरेपछि ओलीसँग प्रचण्ड मात्र नभएर अधिकांश नेताहरू रुष्ट देखिन्छन् ।



गत विहीबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्य सचिव, तत्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत र पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने निर्णय गरेको थियो । भदौ २९ मा मात्रै प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त पूर्वअर्थमन्त्री खतिवडालाई अमेरिकाको राजदूत बनाउने ओलीको एकल निर्णयले नेकपाभित्र असन्तुष्टि देखिएको हो । यसै विषयलाई लिएर ओलीइतरका केही नेताहरूले पुनः ओलीको राजीनामा माग्न थालेका छन् । आज बस्ने सचिवालय बैठकमा पुनः ओलीले राजीनामाको दवाव झेल्नुपर्ने देखिएको छ ।

प्रचण्ड-नेपाल निरन्तर परामर्शमा
ओलीले पटक पटक पार्टी निर्णयको उल्लंघन गर्न थालेपछि दीर्घकालीन समाधान खोज्ने विषयमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच निरन्तर परामर्श भैरहेको खुमलटार स्रोतले बतायो । उनीहरूबीच दोस्रो तहका नेताहरूलाई उचालेर राजीनामाको दवाव दिने र अबका दिनमा पनि विधि उल्लंघन गरेर स्वतः पदच्युत हुने प्रावधानको बारेमा सचिवालयमा छलफल चलाउने तयारी भएको बताइन्छ ।

आजको सचिवालयमा ओलीले गरेका पछिल्ला नियुक्ति खारेज गर्न पनि दवाव दिइने भएको छ । अर्का वरिष्ठ नेता झलनाथ खनालले भने ओलीले पार्टीमा एकलौटी निर्णय गरिरहने र बैठकमा आत्माआलोचना गरेपछि कुनै कारवाही नहुने परिपार्टीले उनमा ‘मैले जे गरेपनि हुन्छ’ भन्ने मनोवैज्ञानिक घमण्ड हाबी भएको भन्दै यसपटक यसै नछोड्ने बताएका छन् । उनले गत विहीबार गरेका निर्णय पार्टी कमिटीको दवावमा फिर्ता लिन बाध्य बनाएर सबक सिकाउनुपर्ने अडान उनले प्रचण्डसँग राखिसकेका छन् । यसकारण पनि आजको सचिवालय बैठक ओलीको लागि अप्रिय हुन सक्ने देखिन्छ ।

दवावमा ओली
आफू इतरका शक्तिहरूको तयारी र हिजो प्रचण्डसँगको भेटपछि ओलीले असहज महसुस गरिरहेका छन् । पछिल्लो समय उपाध्यक्ष वामदेव गौतम पनि आफूसँग रुष्ट बनेकोले सचिवालयमा पनि अल्पमतमा परेका ओलीले तत्कालको संकट टार्न र थप रणनीति तय गर्न आजको सचिवालय टार्ने प्रयास पनि गरिरहेको स्रोतको दाबी छ । नेपाल समूहले पुनः राजीनामाको आवाज उठाएको र पछिल्लो कदमबारे आफूनिकटका दोस्रो तहका नेताहरू पनि सन्तुष्ट नरहेकोले ओलीमाथि नैतिकताको प्रश्न पनि खडा भएको छ ।

उनले हिजो प्रचण्डसँगको भेटमा पनि यो नियुक्तिको प्रकरणलाई धेरै नउचालेर सहयोग गर्न आग्रह गरेका थिए । तर प्रचण्डले पछिल्लो नियुक्तिमा यो आफ्नो मात्र आपत्ति नभएकोले सचिवालयले नै छिनोफानो गर्ने जवाफ फर्काएका थिए ।

सम्बन्धित समाचार