लमजुङको उदीपुरमा यात्रुबस दुर्घटना, एकको मृत्यु, दुई जना गम्भीर

लमजुङको उदीपुरमा यात्रुबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बेसीसहरबाट खत्रीठाँटी जाँदै गरेको ग १ ख ६५०१ नम्बरको यात्रुबस उदीपुरमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

शनिबार बेलुका पौने ८ बजे बेसीसहर नगरपालिका– १ डुडामुख घुम्तीमा बस दुर्घटना भएको हो । दुर्घटनामा परी बेसीसहर नगरपालिका– १ धिमिरेका अन्दाजी २६ वर्षका अर्जुन परियारको मृत्यु भएको लमजुङका डिएसपी गंगाबहादुर थापाले बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।



गम्भीर घाइते बेसीसहर नगरपालिका– ४ पुरानकोटका मनोज गुरुङ र राईनास– ८ का सुदीप नेपालीलाई थप उपचारका लागि चितवन लगिएको डिएसपी थापाले बताए । दुर्घटनामा सामान्य घाइते भएका बेसीसहर नगरपालिका– ४ पुरानकोटका दीपेन्द्र गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने प्रकाश बुढाथोकी स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बसमा पाँचजना यात्रु सवार थिए । बस सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार