पार्टीको सूचना प्रणालीप्रति कांग्रेस नेता केसी असन्तुष्ट

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले आफ्नो स्वास्थ्य स्थिति सामान्य भएको जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि आफू अहिले होम आइसोलेसन बसेको र आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको उनले जानकारी दिएका हुन् ।

नेता केसीले आफूलाई कोरोना संक्रमण भएको कुरा मिडियाबाट सार्वजनिक भइसक्दा पार्टी र सम्बन्धित निकायले खबर नगर्नु दुःखद रहेको बताएका छन् । उनले आफ्नै पार्टीको सूचना प्रणालीमा समेत असन्तुष्टि जनाएका छन् । एउटा जिम्मेवार नेताले आफू कोरोना पोजेटिभ भएको कुरा मिडियाबाट थाहा पाउनुपर्ने अवस्थामा आम नागरिकहरुको अवस्था कस्तो होला भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । देशको स्वास्थ्य प्रणालीमा धेरै नै सुधारको आवश्यकता रहेको उनको भनाई छ ।



यसअघि सामाजिक सञ्जालमार्फत नेता केसीले कोरोना पोजेटिभ रिपोर्ट आएलगत्तै आफू सेल्फ क्वारेन्टाइनमा रहेको र आफूसँग सम्पर्कमा आएका साथीहरूलाई सुरक्षित रहन आग्रह समेत गरेका थिए ।

गत विहीबार केन्द्रीय सदस्य, सहयोगीलगायतको स्वाब संकलन कांग्रेसको पार्टी कार्यालयमा र केहीको अन्यत्र गरिएको थियो । पीसीआर परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठ लगायतको कोरोना पोजेटिभ देखिएको हो । केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि सोमबार दिउँसो बस्ने भनिएको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने गरी सारिएको छ ।

सम्बन्धित समाचार