नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।

प्रदेश ५ को स्थायी राजधानीको विषयलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक टिकाटिप्पणी भइरहेका छन् । सोमबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी सार्ने विषयलाई लिएर कांग्रेसका सांसदले कुर्सी, टेबुल र माइक तोडफोड गरेपछि अहिले त्यसका बारेमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । संसदको गरिमा र मर्यादा कायम राख्न आफैं रोष्टम घेर्न पुगेका कांग्रेस सांसदले संसदीय मर्यादाविपरीत तोडफोड गरेपछि तीव्र आलोचना भइरहेका बेला कुर्सी तोडफोड गर्ने सांसदलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।
त्यसैगरी, प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कूलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्तिको पनि चर्को आलोचना भइरहेको छ । मन्त्री केसीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू (कांग्रेस सांसद) लाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।
मन्त्रीको उक्त अभिव्यक्ति लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता र प्रदेश ५ का मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । प्रवक्ता शर्माले कुर्सी तोडफोड गर्नु गलत हो भनेर कांग्रेस प्रवक्ता बोल्ने तर मन्त्रीको उत्तेजक आदेश गलत भनेर नेकपा प्रवक्ता किन नबोल्ने ? भन्दै प्रश्न गरेका छन् । मंगलबार ट्वीटमा उनले संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश ? भन्दै नेकपा प्रवक्तालाई अर्को प्रश्न गरेका छन् ।
सभामुख मौन र मन्त्री आक्रामक हुँदा द्वन्द्व चर्कन्छ भन्दै प्रवक्ता शर्माले संसदमा द्वन्द्व हुँदा संयमसँग समाधान खोज्ने कर्तव्य सभामुखको र संसद बाहिर मुख्यमन्त्रीको भएको बताएका छन् । उनले मन्त्रीको प्रस्तुति सरकारकै अभिव्यक्ति हो ? भनी मुख्यमन्त्रीलाई समेत प्रश्न गरेका छन् । साथै उनले मर्यादापालकलाई मन्त्रीको उत्तेजक आदेश अनाधिकृत, असंसदीय र आपत्तिजनक भएको बताएका छन् ।
यसअघि प्रवक्ता शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत रहेको र पार्टीको संस्कृति उलंघनको स्वायत्तता कोही पनि सांसदलाई नदिइएको बताएका थिए । संसदीय व्यवस्था कम्युनिस्टका लागि बाध्यता र कांग्रेसका लागि रोजाइको पद्दति भएको उनको भनाइ थियो ।
