नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

सरकारले गत असोज १९ गते (सोमबार) बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ ।
बुधबार सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्ले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति जनाएको छ ।
बैठकको निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ । यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समिति गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए ।

