नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै थप १ हजार २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा बुधवार थपिएका १ हजार ६८४ जना कोरोना संक्रमित मध्ये १ हजार २९६ जना कोरोना संक्रमित काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १४ हजार २०९ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

