नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असाेज ।

२०२२ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) बुधबार रातिबाट खुल्ने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला गरिने जनाएको छ ।
अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरुले उतैको ग्रीनकार्ड पाउने गर्छन् ।
कसरी भर्ने डीभी ?
अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइट https://np.usembassy.gov/…/2022-diversity-visa-program-o…/ मा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।
डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे-नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।
यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।
त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भएरनभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।
तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डीभी परेका करिव ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।
छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईंलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।

