सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो, सरकारले भन्यो-‘अब काठमाडौंका अस्पतालले धान्‍न सक्दैनन्’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले स्वास्थ्य सुरक्षा नअपनाउँदा कोरोना संक्रमण अप्रत्याशित रुपमा बढेको बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर गौतमले अब अस्पतालले नधान्‍ने पनि बताएका छन्।

उनले काठमाडौंमा संक्रमितहरुको उपचार व्यवस्थापनमा चुनौती बढेको पनि उल्लेख गरेका छन्। ‘काठमाडौं संक्रमितहरुको उपचार व्यवस्थापन गर्न चुनौती बढेको छ,’ उनले भने, ‘यही अनुसार बढ्यो भने अस्पतालले धान्‍न सक्दैन।’ उनले अहिले बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना नभएको भान भएको पनि बताए।



‘बजारमा किनमेल गर्नेहरुको भिडले तीव्रगतिमा बढेको कोरोना छैन कि भन्‍ने भान हुन्छ,’ उनले भने, ‘तपाईं हाम्रा व्यवहारले संक्रमण अप्रत्यासित बढेको छ।’ उनले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि सधैँजसो आग्रह गरे।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३४४९ जनामा कोरोना संक्रमण पुष्टि भएका‍े छ। योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

हाल २५ हजार ७ जना सक्रिय संक्रमित छन् । १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। आज १४ हजार २०९ जनाको परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ६८ हजार ६६८ जना निको भएका छन्। हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्। हालसम्म ७२।९ प्रतिशत संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । उससँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

सम्बन्धित समाचार