पुनः लकडाउन नगरे कोरोना नियन्त्रणमा आउँदैनः प्रवक्ता

पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर आक्रमक रुपमा बढेको छ । दशैं नजिकिँदै गर्दा यो संक्रमण अझै फैलिने खतरा बढेको छ । सक्रिय संक्रमितको संख्या २५ हजार नाघेसँगै उपत्यकाका अस्पतालले बिरामी थेग्न नसक्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा १५ देखि २० दिन पुनस् लकडाउन नगरे कोरोना नियन्त्रणमा नआउने दाबी गरेका छन् ।



उनले एक अन्तर्वार्तामा भने, ‘काठमाडौंमा ट्राभल हिस्ट्री नभएका व्यक्ति देखियो भन्दैमा समुदायमा गयो भन्न मिल्दैन । कल्स्टरभित्रको समुदायमा गयो भन्न मिल्छ । कोरोना संक्रमितको तथ्यांक हेर्दा पनि ७५३ पालिका मध्ये ५०० वटा पालिकामा कोरोना संक्रमित देखिएकै छैनन् । अहिले पनि काठमाडौं भित्रिने सबै नाका सिल गरेर १५ देखि २० दिन परीक्षण गरेमा नियन्त्रणमा आउँछ ।’

विभिन्न जिल्ला र भारतबाट आउने व्यक्तिले काठमाडौंमा कोरोना सारेको उनको भनाइ छ । यदि बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा राम्रोसँग राख्न सकेको भए संक्रमणको दर नबढ्ने उनी बताउँछन् । राम्रोसँग मास्क लगाएर र दुई मिटरको दूरी कायम गरेमा कोरोना नसर्ने उनको दाबी छ ।

सम्बन्धित समाचार