नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असाेज ।

निषेधाज्ञा हटेपछि काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको उनले बताए । उपत्यकाभित्र बढेको चहलपहलका कारण संक्रमणको खतरा अझ बढेको उनले बताए । बाहिरी जिल्लाबाट आएपछि दुई हप्ता अनिवार्य होम क्वरेण्टीनमा बस्न भनिए पनि त्यसको पालना नभएको उनले बताए ।
यस्तै उनले उपत्यकाका अस्पतालका शय्या लगभग भरिसकेकाले अति आवश्यक नपरि अस्पताल नजान आग्रह गरे । समस्या परिहाले टोल फ्री नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३७ तथा ९८५१२५५८३९ सम्पर्क गर्न पनि उनको आग्रह छ ।
यसैगरी उनले सकेसम्म चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरे । दशैंमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह छ । सार्वजनिक ठाउँमा हालिएका पिङ धेरैले प्रयोग गर्ने भएकाले संक्रमणको जोखिम बढ्ने भन्दै पिङ नहाल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
