नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असाेज ।

सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच आठ घण्टाभन्दा लामो समयदेखि वार्ता भइरहेको छ । शिक्षा मन्त्रालयमा बिहान साढे १० बजे शुरु भएको वार्ता दिउँसो ३ बजे रोकिएको थियो । त्यसपछि फेरि बेलुका ५ बजेदेखि निरन्तर वार्ता भइरहेको डाक्टर केसीका सहयोग प्रितम सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेसम्मको छलफल सकारात्मक छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेपछि विहीबार वार्ता भइरहेको हो । डाक्टर केसी ६ बुँदे माग राखेर १९ औँ अनशनमा बसेको विहीबार २५ दिन पुगेको छ । उनको स्वास्थ्यमा निकै समस्या आउन थालेकाले तत्काल आईसीयूमा सानुपर्ने उपचारमा संलग्न डाक्टरले बताएका छन् । तर डाक्टर केसीले भने आईसीयूमा जान अस्वीकार गरेका छन् ।
डा. कसीले सरकारसँग ०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा वरिष्ठता मिचेर गरिएका नियुक्ति सच्याउनुपर्ने र बयलपाटा अस्पताललाई नियमित र आवश्यक बजेट व्यवस्था गरी निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।
उनको माग शिक्षा, स्वास्थ्य मन्त्रालय, आयोग र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित छन् । गएको भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनशन शुरु गरेका थिए । पछि काठमाडौं आएका उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा छन् ।
