नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असाेज ।

सरकार र अनशनसत डा गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षा सचिव गोपी मैनाली र डा जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो लगातर तीन पटक छलफल भएको थियो। वार्ताका क्रममा डा केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ।
कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताएका छैनन्। सरकारी वार्ता टोलीका एक सदस्यका अनुसार सकारात्मक छलफल भएको छ। छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि आज सहमति गर्ने तयारी छ।
डा क्षेत्री नेतृत्वको वार्ता टोलीले डा केसीलाई भेटेर सरकारी पक्षसँग भएको छलफलबारे ब्रिफिङ गरिसकेको छ। सरकारी टोलीले पनि आज प्रधानमन्त्री के पी शर्मा ओलीसँग परामर्श गरेपछि थप वार्ता गरेर आजै केसीको अनसन तोडाउने तयारी छ। आज बिहान फेरी वार्ता हुँदैछ। केसीले ६ बुँदे माग राखेर भदौ २९ मा केसीले जुम्लाको चन्दननाथमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गरेका थिए।
