नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असोज ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपप्राध्यापक माथिको आक्रमणको आरोपमा कुनै सत्यता नभएको बताएको छ । नेविसंघले राख्दै आएका मागहरुको सहमति लागू नगर्ने प्रपञ्च स्वरुप त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको निर्देशनमा उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण भएको दाबी गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै नेविसंघले शान्तिपूर्ण आन्दोलनमार्फत वार्ताका माध्यमबाट गरिएको सहमति लागू नगर्ने प्रपञ्च रचेर पदाधिकारीहरुको निर्देशनमा उपप्राध्यापक चलाउनेमाथि विश्वविद्यालय परिसरमै आक्रमण भएको आरोप लगाएको छ ।
उक्त आक्रमणलाई त्रिविका पदाधिकारीको निर्देशनमा नेविसंघलाई बदनाम गराउन रचिएको षड्यन्त्र भनिएको छ, नेविसंघका अध्यक्ष राजीव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उनले भनेका छन्, ‘घटनासँग जोडेर घटना हुनुभन्दा दुई दिन अघिदेखि कोरोना संक्रमित भएर उपचाररत तथा होम आइसोलेसनमा रहेका विद्यार्थी नेताहरुको नामसमेत मुछेर गरिएको अनर्गल प्रचारप्रति दु:ख व्यक्त गर्दै निर्दोष विद्यार्थीलाई लगाइएको झुटा मुद्दा खारेजीको माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
असोज २० गते त्रिविको समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि केन्द्रीय क्याम्पस परिसरमा भौतिक आक्रमण भएको थियो । उक्त आक्रमणको आरोप नेविसंघमाथि लगाइएको छ ।
साथै अध्यक्ष ढुंगानाले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।


