लक्षण नभएका कोरोना संक्रमितबाट संक्रमणको कति जोखिम ?

कोरोना भाइरस संक्रमण देखा परेको लामो समय भइसक्दासमेत आजसम्म यसविरूद्धको कुनै खोप वा औषधि बनिसकेको छैन । तर विश्वका विभिन्न देशहरू कोरोना भाइरस विरूद्धको भ्याक्सिन बनाउन लागिपरेकाले केही आशा भने देखाएको छ ।

कोरोना भाइरस मानिसको शरीरमा नाक र मुखबाट प्रवेश गर्छ । कुनै संक्रमितको संसर्गमा आउने अन्य मानिसलाई संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक र मुखबाट निस्किएका ससाना छिटाबाट कोरोना भाइरस सर्ने गर्छ । संक्रमितहरूमध्ये केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइए पनि ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोना भाइरस संक्रमणका मुख्य लक्षण हुन् ।



कोरोना भएका व्यक्तिसँग कति दिन अगाडि वा कति समयसम्म सम्पर्कमा रहेका व्यक्ति जोखिममा पर्छन् ? भन्ने धेरैको जिज्ञासा हुन्छ । यसबारेमा सरूवारोग विशेषज्ञ डा.अनूप सुवेदी लक्षण देखिनुभन्दा ४८ घन्टा अगाडिबाट संक्रमण सर्ने सक्ने बताउँछन् । यदि कसैलाई आज लक्षण देखिएको हो भने उसले ४८ घन्टा (दुई दिन) अगाडिदेखि अरूलाई भाइरस सार्न सक्ने उनको भनाइ छ । त्यस्तै कुनै व्यक्तिमा लक्षण देखिएको छैन तर परीक्षण गर्दा पोजेटिभ आयो भने उसले स्वाब झिक्नुभन्दा ४८ घन्टा अर्थात् दुई दिनअघिबाट संक्रमण सार्ने सक्ने उनी बताउँछन् । संक्रमित व्यक्तिसँग कति दिनअगाडि कति समय बिताएको थियो, कति दूरीमा बसेको थियो, मास्क लगाएको थियो कि थिएन, हात मिलाएको थियो कि थिएन लगायत कुराले जोखिम निर्धारण गर्ने उनको भनाइ छ ।

डा.सुवेदीका अनुसार कोरोना संक्रमित होम आइसोलेसनमा बस्दा लक्षण बढ्दै गएको छ कि छैन भनेर निगरानी गर्ने र अन्य मानिसलाई सर्ने सम्भावना नहोस् भनेर ख्याल राख्नुपर्छ । साथै अक्सिजन कम भयो वा ज्वरो धेरै आउन थाल्यो भने अस्पताल गइहाल्नुपर्ने उनको सुझाव छ ।

जेष्ठ नागरिक तथा दीर्घरोगभएका व्यक्तिबाहेक अरूलाई कोरोना संक्रमण भएपनि डराउनु पर्दैन । रोगसँग लड्न सक्छु भन्ने आत्मबल हामी सबैको हुनु जरूरी छ । जन स्वास्थ्यविदहरूका अनुसार दुई हप्ता घरमै आराम गर्ने, पोषिलो खाना खाने, हल्का व्यायाम गर्ने तथा तनाव व्यवस्थापन गर्ने हो भने ९० प्रतिशत संक्रमितलाई आफैं निको हुन्छ ।

डराउनु पर्दैन सचेत बन्नु पर्छ

तरकारी, फलफूल लगायत अन्य खाद्यान्नबाट कोरोना संक्रमण नसर्ने विज्ञहरूले बताउँदै आएका छन् । आवश्यक काम विना घरबाहिर नजाने यदि जानै परे अनिवार्य रूपमा मास्क लगाउने हो भने कोरोना संक्रमण सर्ने प्रक्रिया ६५ प्रतिशत घट्ने विज्ञहरूको भनाइ छ । जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गर्ने हो भने कोरोना भाइरसको संक्रमण भइहाल्छ कि भनेर डराइहाल्नु पर्दैन ।

 

सम्बन्धित समाचार