टिकटक प्रतिबन्ध

पाकिस्तानले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए) ले शुक्रबार चिनियाँ एप्लिकेशनमाथि प्रतिबन्ध लगाएको हो । ‘अनैतिक तथा अश्लिल’ सामग्री फिल्टर गर्न असफल भएका कारण टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले बताएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

टिकटकमा अनैतिक तथा अश्लिल सामग्री रहेको भन्दै विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाउने निर्णयमा पुगिएको पीटीएले जनाएको छ । अश्लिल सामग्री नियन्त्रणका लागि टिकटकले आफूहरु ढुक्क हुने गरी काम गर्न सकेमा मात्रै प्रतिबन्ध फुकुवाका सम्बन्धमा समीक्षा गर्न सकिने पीटीएले उल्लेख गरेको छ ।



टिकटकले एप्लिकेशन जहाँ प्रयोग भएको छ त्यहींको कानून पालन गर्न प्रतिबद्ध रहेको समाचार संस्था रोयटर्सलाई बताएको छ । पीटीएसँग लगातार वार्ता भइरहेको पनि टिकटकले जनाएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सको छोटो अवधिको भिडियो सेयर गर्न मिल्ने एप्लिकेशन टिकटक पछिल्लो समय विश्वभर चर्चित भएको छ । हालै भारतले पनि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । यस्तै अमेरिकामा पनि टिकटक समस्यामा छ ।

सम्बन्धित समाचार