नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असाेज ।

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको संगठनात्मक एकतालगायत कार्यविभाजनका विषयमा छलफल गर्न कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित वरिष्ठ नेता राजेन्द्र महतो,अशोक राई र बाबुराम भट्टराईसमेत सहभागी बैठकले कात्तिक ३ र ४ गते कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको हो।
यसअघि समाजवादी पार्टी र जनता समाजवादी पार्टीका ५३ पदाधिकारी सहभागी हुने कार्यकारिणी समितिको बैठक बस्ने भएको छ। अहिले कार्यकारिणी समिति ५३ जना भनिएपनि रेशम चौधरी जेलमै भएकाले ५२ जना मात्रै सहभागी हुने भएका छन्।
‘अब बस्ने दोस्रो कार्यकारिणी समितिको बैठकमा विशेषगरी पार्टीको सांगठनिक विषयमा केन्द्रित भई छलफल गर्छौं,’ अध्यक्ष यादवले भने, ‘कार्यकारिणी समितिको कार्यविभाजन, पार्टीको केन्द्रीय समिति ,केन्द्रीय परिषद घोषणा, जनवर्गीय संगठनको एकताका विषयमा छलफल हुन्छ।’
पार्टी एकता गरेको लामो समय भएपनि सबैलाई चित्त बुझाएर पार्टी एक बनाउन गाह्रो भएको नेताहरुले बताएका छन्। सोही बैठकमा भट्टराईको वरीयताको विषयमा समेत छलफल हुने भएको छ। बैठकले समसामायिक राजनीतिका विषयमा समेत छलफल गर्ने यादवले बताए।
