ईपीएस भाषा परीक्षा सन् २०२१ को मार्चभित्र

सरकारले कोरोना महामारीका कारण सन् २०२० मा रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा सन् २०२१ को पहिलो त्रैमासिकभित्र गर्ने तयारी अगाडि बढाएको छ ।

कोरोना महामारीका कारण यो वर्षको मंसिरसम्म परीक्षा गर्ने सम्भावना नरहेपछि भाषा परीक्षाको मिति अर्को वर्षका लागि सारिएको हो । सामान्यता बर्षेनी चैत–वैशाखमा लिंइँदै आएको भाषा परीक्षा यो वर्ष कोरोनाका कारण सारिए पनि संक्रमण नरोकिएका कारण अन्ततः रद्द नै गरिएको छ । वैदेशिक रोजगार विभाग, ईपीएस शाखा नेपालले यो वर्षको भाषा परीक्षा नहुने भएपछि केही छिटो गरेर चैतसम्म गर्ने तयारीसहित प्रारम्भिक छलफल भइरहेको जनाएको छ ।



सन् २०२० मा भाषा परीक्षा हुने नदेखिएपछि २०२१ को मार्चसम्म गर्नेबारे छलफल भइरहेको ईपीएस शाखाका निर्देशक इन्द्र गौतमलेजानकारी दिएका छन् । उनले भाषा परीक्षा गराउँदा भीडभाड हुने हुँदा नेपालमा पनि संक्रमण कम हुँदै गए २०२१ को भाषा परीक्षा हुने बताए ।

कोरिया सरकार नेपालबाट श्रमिक लैजान र भाषा परीक्षा गर्ने पक्षमा भए पनि कोरोना संक्रमणका कारण दुवै देश ‘पर्ख र हेर’को अवस्थामा छन् । यसअघि परीक्षा र सीप परीक्षा दिएर रोष्टर (योग्यसूची) मा रहेका नेपाली श्रमिकको छनोट प्रक्रिया कोरियामा भइरहे पनि कोरिया प्रवेश सहज बन्न सकेको छैन ।

कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहे पनि नेपालमा भने संक्रमण बढ्दै गएको कारण देखाउँदै भाषा परीक्षाको मिति तय भने गर्न सकिएको छैन । शाखाका अनुसार कोरियाली पक्षले सन् २०२१ को परीक्षा भने कसरी गर्ने भन्ने बारेमा तयारी गरेको बुझिएको जनाएको छ । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा २०१२ र २०२० भने हुन सकेन ।

कोरोना संकट सुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरेको भए पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् । श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ युवा समेत अहिले पनि कोरिया जान पाएका छैनन् । रोजगारदाताले श्रम सम्झौता रद्द नगरेको अवस्थासम्म म्याद समाप्त भएको युवाको भिसा अवधि थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।

नेपालबाट वार्षिक औषत ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको ९ महिनामा १ हजार २७ नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ । सन् २०१९ मा ७ हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म ४ हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् । कोरियामा करिब ३१ हजार नेपाली कार्यरत छन् ।

सम्बन्धित समाचार