नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा १ हजार १४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जनासहित काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७०।३ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३१ हजार ३१५ रहेको मन्त्रालयले जनाएको छ । ती मध्ये होम आईसोलेसनमा १७ हजार ६६६ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६४९ जना छन् । ती मध्ये ३२९ जना संक्रमितको आईसियु र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
