नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढीरहेको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ४२७ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७०.३ प्रतिशत हो ।
