नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असाेज ।

भारत बंगाल खाडीमा विकसित शक्तिशाली निम्न चापीय क्षेत्र अझ शक्तिशाली बन्दै गएको भए पनि अहिलेसम्मको अध्ययनले त्यसले नेपालमा कुनै विपत्ति ल्याउने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।
महाशाखाले सोमबार बिहान जनाएअनुसार हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (डिप्रेसन) रहेको छ। उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम उत्तर-पश्चिमी दिशातर्फ सर्दै जाने देखिन्छ। त्यहाँ बनेको प्रणाली उल्लेख गर्नुपरे पनि त्यसले नेपालमा कुनै विपद् ल्याउने सम्भावना नरहेको मौसमविद् विभूति पोखरेलले बताएकी हुन्।
अहिलेसम्मको अध्ययनले त्यो चक्रवात भन्ने सम्भावना पनि नदेखिएको उनको भनाइ छ। ‘बन्यो भने पनि नेपालमा त्यस्तो विपत्ति निम्त्याउने देखिएको छैन,’ मौसमविद् पोखरेलले भनिन्। मौसममा थप कुनै परिवर्तन देखापर्यो भने आफूहरूले बुलेटिनमार्फत जानकारी गराउने उनले बताइन्।
अहिलेसम्म औपचारिक रूपमा देशभरबाटै मनसुन बाहिरिएको घोषणा मौसम पूर्वानुमान महाशाखाले गरिसकेको छैन। आज प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
