नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असाेज ।

यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विगतको दशैँमा जस्तो भीडभाड र चहलपहल नभएकाले यसपालि गाउँ फर्कने मानिसको संख्या निक्कै कम छ । यही अवस्था रहेमा अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नपर्ने महानिर्देशक हमालको भनाइ छ ।
उनले आवश्यक परिहालेमा घटस्थापनाको एकरदुई दिनपछि मात्रै खोल्ने बताए । घटस्थापना आउन अब पाँच दिन मात्र बाँकी छ । गएको वर्ष यात्रुको चापका कारण अरु रुटमा चल्ने गाडीसमेत ल्याएर बढी चाप भएका रुटमा चलाउनुपर्ने बाध्यता थियो । तर यसपालि चलेका गाडीलाई नै यात्रु नपुगेको उनले बताए ।
पहिला दशैंमा घर जाने विद्यार्थी धेरै हुन्थे । तर अहिले स्कुल, कलेज, विश्वविद्यालयमा खासै पठनपाठन नभएको र विद्यार्थीहरु अगाडि नै घरगाउँ गइसकेका छन् । एउटा रुटमा चल्ने १० वटा गाडीमध्ये २ वटा गाडीलाई नै यात्रु नपुगेको अवस्था रहेको उनले बताए ।
यातायात व्यवसायीले पनि यात्रु नपाएको बताउँदै आएका छन् । गएको वर्ष दशैंका बेला २० लाखभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिन्थे । अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले सामान्य तरिकाले चलेका गाडीले पनि पुग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
गएको वर्ष असोजको १८ गतेदेखि दशैं सुरु भएको थियो । दशैंका लागि उपत्यका छाड्नेहरुका लागि यातायात व्यवसायीहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोलेका थिए । यो वर्ष कात्तिक ७ गतेदेखि दशैं शुरु हुने भएकाले योभन्दा अगाडि नै अग्रिम टिकट बुकिङ खुला हुनुपर्ने भए पनि खुल्न सकेको छैन ।
गएको शुक्रबार यातायात व्यवस्था विभाग यातायात व्यवसायी, यातायात मजदुर, ट्राफिक प्रहरी र पालिकाका प्रतिनिधि बसेर छलफल गरे पनि टिकट बुकिङ खुलाउनुपर्ने पक्षमा कोही नरहेको विभागले जनाएको छ।
