नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असाेज ।
भारत-चीनबीच आज सीमा विवादबारे वार्ता हुँदैछ । पूर्वी लद्दाखमा जारी तनाव समाधानका लागि आज (सोमबार) दुई देशका सैनिकबीच सातौं चरणको वार्ता हुन लागेको भारतीय दैनिक पत्रिका द टाइम्स अफ इण्डियाले जनाएको छ।
सीमा वार्तामा पहिलोपटक चीनका कूटनीतिक प्रतिनिधि पनि सहभागी हुँदैछन् ।वार्तामा चीनको प्रतिनिधि मण्डलमा विदेश मन्त्रालयका अधिकारी र राजनीतिक प्रतिनिधि सहभागी हुने जनाइएको छ। यसअघि गत सेप्टेम्बर २१ मा भएको छैटौं चरणको वार्तामा भारतका तर्फबाट एक वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वीएसिया) नवीन श्रीवास्तव सहभागी भएका थिए।
गत जुन १५ मा पूर्वी लद्दाखमा दुई देशका सैनिकबीच झडप हुँदा भारतका २० सैनिक मारिएका थिए। चीनतर्फ के कति क्षति भयो केही पनि खुलाइएको छैन। त्यसयता पनि पूर्वी लद्दाख दुई देशका सेनाबीच तनाव बढ्दै गएको छ ।