मन्त्रालयमा असन्तुष्टि जनाउँदै शर्मा र पाण्डे मन्त्रीको दौडबाट बाहिरिए, यी तीनलाई मन्त्री बनाउने ओली-प्रचण्डको तयारी

मन्त्रिपरिषद् पुर्नगठनमा समय लाग्ने देखिएपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालको लागि खाली ३ मन्त्रालयमा ३ मात्र मन्त्री थप्ने भएका छन् । दशैंपछि भने अधिकांश मन्त्री फेर्नेमा उनीहरू सहमत भएका छन् । हाल अर्थ, शहरी विकार र सञ्चार मन्त्रालय खाली रहेका छन् । ती मन्त्रालयमा क्रमश महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई नियुक्त गर्ने ओली प्रचण्डको योजना थियो । तर पाण्डे र शर्माले मन्त्रालयमा असन्तुष्टि जनाएपछि उनीहरूको विकल्प खोजेर भए पनि ३ मन्त्री तत्काल नियुक्त गर्ने तयारी भएको स्रोतले बतायो ।

पाण्डे र शर्मा मन्त्रीको दौडबाट पछि हटेपछि सो स्थान २ महिला नेतृले लिने सम्भावना देखिएको छ । शहरी विकास मन्त्री बन्न पाण्डे तयार नभएपछि सो स्थानमा पार्टी उपाध्यक्ष वामदेव गौतम पत्नी तुलशा थापालाई मन्त्री बनाइने भएको छ । त्यसैगरी सञ्चारमा जान नमानेका शर्माको स्थानमा पम्फा भुषाललाई मन्त्री बनाइने भएको छ ।



सर्वोच्चमा मुद्दा कायमै रहेकोले तत्काल उपाध्यक्ष वामदेवलाई मन्त्री बनाउने सम्भावना नरहेकोले उनको पत्नीलाई मन्त्री बनाएर गौतमलाई पार्टी काममै समय दिन ओली प्रचण्डले आग्रह गरेका थिए । अध्यक्षद्वयको अग्रहमा गौतमले सहमति जनाएपछि थापाको मन्त्री बन्ने बाटो खुलेको हो । ओली प्रचण्डले एक दुई दिनमै उनीहरूलाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेको जानकारी प्राप्त भएको छ ।

प्रदेशमा भाँडभैलो, ओली प्रचण्ड छलफलमा जुट्दै
नेकपाको विवाद केन्द्रमा मिल्दै गए पनि प्रदेशहरूमा भने नयाँ नयाँ विवाद देखिन थालेको छ । हालै लुम्बिनी प्रदेशको राजधानी र नामाकरणका विषयमा चर्को विवादको सामना गरेको नेकपाले फेरि कर्णली प्रदेशमा पनि उस्तै हालत भोगिरहेको छ । कर्णली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्र शाहीविरूद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपा कर्णालीको विवाद सतहमा आएको हो । ओलीनिकट मानिने संसद यामलाल कँडेलकै नेतृत्वमा मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि यसबारे आज ओली र प्रचण्डबीच छलफल हुने भएको छ ।

कर्णालीमा मात्र नभएर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध पनि अविश्वास प्रस्ताव ल्यउने तयारी भएको चाल पाएपछि ओली र प्रचण्डले केन्द्रबाट हस्तक्षेप गर्ने तयारी गरेका छन् । उनीहरूले तिहारपछाडि सबै प्रदेशमा मुख्यमन्त्री फेर्ने तयारी भैरहेको भन्दै हाललाई कुनै प्रस्तावको तयारी नथाल्न निर्देशन दिने गरेको स्रोतले बतायो ।

मन्त्रिपरिषद् पुर्नगठनको गृहकार्य गर्दै गर्दा ओली र प्रचण्ड प्रदेश सरकार पनि पुनर्गठन गर्ने मनस्थितिमा पुगेका थिए । उनीहरूबीच कम्तिमा पनि ४ प्रदेशमा मुख्यमन्त्रीसहित सबै मन्त्री फेर्ने योजनामा रहेको बताइन्छ । हाल ६ प्रदेशमा नेकपाको सरकार छ, यसमध्ये लुम्बिनी र गण्डकीबाहेका अन्य ४ प्रदेशका मुख्यमन्त्री फेर्नेमा ओली प्रचण्ड सहमत भएका छन् । मुख्यमन्त्री फेर्ने चर्चाकै बीच विभिन्न प्रदेशमा विभिन्न खालका चलखेल भएपछि आज ओली र प्रचण्डबीच छलफलको तयारी भएको हो । उनीहरूले अवश्यक परेमा माधव नेपाललाई पनि साथमा राखेर छलफलमा जुट्ने तयारी गरिरहेका छन् ।

सम्बन्धित समाचार