नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै अस्पतालहरूलाई आकस्मिक बाहकेका सबै शल्यक्रिया स्थगित गर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
मन्त्रालयका प्रवक्ता गौतमले संक्रमणको अवस्था नियन्त्रण हुँदै गएपछि मात्र अस्पतालहरूलाई नियमित शल्यक्रिया गर्न पाउने गरी निर्देशन दिइएको जानकारी दिए ।उपत्यकाका सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाइने समेत मन्त्रालयले जनाएको छ ।
त्यसका लागि स्वास्थ्य सेवा विभागसँग भएका स्वास्थ्य सामग्री ती अस्पतालहरूमा वितरण गरी आवश्यक व्यवस्थापन समेत गरिने प्रवक्ता गौतमले बताए ।
