नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असाेज ।

मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठकमा कोरोना नियन्त्रणकाे लागि विभिन्न उपायका बारेमा गहन छलफल भएको थियो । अन्तर्राष्ट्रिय सीमासम्बन्धी अहिलेकै व्यवस्थालाई कात्तिक मसान्तसम्म जारी राख्ने निर्णय बैठकले गरेको छ ।
भारतततर्फ आवतजावतका लागि खुला गरिएका १० वटा नाका मात्र खुला राख्ने र अन्य नाकाहरु खुला नगर्ने निर्णय भएको एक मन्त्रीले बताए ।
त्यसैगरी सरकारी कार्यलयहरु घटस्थापनादेखि पूर्णिमासम्म बन्द गर्नेबारेमा छलफल भएपनि अर्को बैठकमा मात्र निर्णय लिने तयारी गरिएको छ । सीसीएमसीले गरेको यो प्रस्तावमा प्रधानमन्त्री केपी ओली पनि सकारात्मक रहेको बताइएको छ ।
लकडाउनबारे पनि बैठकमा छलफल भएपनि विभिन्न क्षेत्रसँगको परामर्शपछि उचित निर्णय लिने सरकारको तयारी रहेको छ ।
त्यसैगरी सरकारले नेपालीहरुको ठूलो चाड दशैं यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ। सरकारले हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार हवाइ सेवामा अहिले लागु गरिएको एकतर्फको सिटमा एक जना मात्रै यात्री रहने व्यवस्था हटाउने निर्णय गरेको छ ।
