चीनले पाँच दिनमा ९० लाख मानिसको कोरोना परीक्षण गर्दै

चीनको चिङ्डाओ नगरले पाँच दिन लगाएर ९० लाख मानिसको कोरोनाभाइरस परीक्षण गर्ने भएको छ । विदेशबाट आएका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचार गर्ने एउटा अस्पतालसँग सम्बन्ध भएका दर्जनौँ मानिसमा सङ्क्रमण देखिएपछि त्यहाँ ठूलो सङ्ख्यामा कोरोनाभाइरस परीक्षण गर्न लागिएको हो। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार जनाएअनुसार पाँच दिनभित्रै सम्पूर्ण सहरको परीक्षण गरिनेछ।

सहरका स्वास्थ्यकर्मी र अस्पतालहरूमा नयाँ भर्ना भएका समेत गरी झन्डै १,१४,८६२ जनाको कोरोनाभाइरस परीक्षणपछि नेगेटिभ नतिजा आइसकेको चिङ्डाओको स्वास्थ्य आयोगले जनाएको छ ।



गत मे महिनामा चीनले एक करोड १० लाख मानिस बसोबास गर्ने र यो विश्वव्यापी महामारीको केन्द्र ठानिएको वुहान सहरमा सम्पूर्ण जनसङ्ख्यामा यसैगरी कोरोनाभाइरसको सामूहिक परीक्षण गरिएको थियो ।

चीनमा कोरोनाभाइरस सङ्क्रमण लगभग नियन्त्रणमा आइसकेको बताइन्छ । तर संसारका अन्य धेरै देशमा कोरोनाभाइरस तीव्र गतिमा बढिरहेको छ। उनीहरुले विभिन्न चरण र प्रकृतिका लकडाउनका व्यवस्थाहरू गरेका छन् ।

चीनको सामाजिक सञ्जालको वेबसाइट वेइबोमा राखिएको एउटा वक्तव्यमा चिङ्डाओ नगरको स्वास्थ्य आयोगले त्यहाँ छ जनामा नयाँ सङ्क्रमण र छ जना विनालक्षणका सङ्क्रमितहरू भेटिएका छन् । ती सबै सङ्क्रमितको सम्बन्ध एउटै अस्पतालसँग देखिएको सरकार सञ्चालित सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

संवाददाताहरूका अनुसार अब कोरोनाभाइरस सङ्क्रमणको सापेक्षित रूपमा सानो नै भएपनि नयाँ समूह अथवा क्लस्टर फेला परेमा उक्त इलाकामा सामूहिक परीक्षण गरिने नयाँ रणनीति चीनका अधिकारीहरूले बनाएका छन् । नयाँ सङ्क्रमितहरू चीनमा सुनौलो साप्ताहिक छुट्टी भनिने अवकाशको समयपछि देखा परेका छन् जुन समयमा करोडौँ मानिसहरूले देशभरि यात्रा गरेका थिए।

यसअघि वुहानमा १० दिनमा एक करोड १० लाख मानिसमा कोरोनाभाइरस परीक्षण गरिएको चीनले जनाएको थियो।

सम्बन्धित समाचार