नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असाेज ।

संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता बामदेव गौतमको मुद्दा गत साता सुनुवाइ हुन नसक्दा आज बुधबारका लागि हेर्दाहेर्दै राखिएको छ। बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सरकारी वकिल र उनका केही कानुन व्यवसायीले बहस गरेपछि हेर्दाहेर्दै रहेको थियो ।
असोज २१ गते बुधबारका लागि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ सर्वोच्चका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि रोकिएको थियो। उक्त दिन सुनुवाइ हुन नसकेपछि असोज २८ गतेका लागि पेशी तोकिएको थियो।
हरेक बुधबार र शुक्रबार बस्दै आएको संवैधानिक इजलाश कोरोनाका कारण प्रभावित भएको थियो। आज उक्त मुद्दाको सुनुवाइ हुन नसके कात्तिक १९ गतेपछि मात्र सुनुवाइ हुने छ। तर सुनुवाइ हुने–नहुने भन्नेबारे भने पेशीसूची आएपछि मात्र थाहा हुनेछ ।
असोज १ गतेदेखि घटस्थापना सुरु भएपछि दसैंअवधिमा अदालत बिदा हुनेछ । बुधबार कुनै पनि अवस्थामा मुद्दाको सुनुवाइ हुनुपर्ने नत्र हेर्दाहेर्दै दसैंपछि जाने निवेदक दिनेश त्रिपाठीले बताए। गौतमको हकमा अन्य कुरा केही नभए पनि मन्त्रिपरिषद विस्तार भएमा भने सर्वोच्चको आदेशले समस्या पर्नेछ। सरकारले पटक–पटक मन्त्रिपरिषद् पुनर्गठन गर्ने भने पनि सकेको छैन। मन्त्रिपरिषद पुनर्गठन दसैपछि मात्र हुने देखिएकाले गौतमले यो विवाद दसैंअघि नै टुङ्गाउन चाहेका छन्।
बुधबार सुनुवाइ भएमा आफ्ना पक्षका कानुन व्यवसायीको बहस छोट्याउँदै सुनुवाइ सक्नुपर्ने पक्षमा गौतम रहेको उनका वकिलहरुले बताएका छन्। गौतम पक्षका केही कानुन व्यवसायी र निवेदकको जवाफी बहसमात्र बाँकी रहेको छ । यो सकिएलगत्तै सर्वोच्चले आफ्नो निर्णय सुनाउने छ।
