भट्टराईको नौं अर्ब भ्रष्टाचारको आरोप : सामान्य नागरिकदेखि राजनीतिक वृत्तमा नयाँ तरङ्ग

‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरू गरेको बुढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रूपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन् । मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरून्त गर्न सक्छु । यो मात्र होइन, अरू दस, आठवटा आयोजनाबाट अरबौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरूले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो ।’ पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्ति हो यो ।

मुलुकको प्रधानमन्त्री बनिसकेका व्यक्तिबाट यस्तोखालको अभिव्यक्ति आएपछि केही दिनयता यसबारेमा विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । नौ अर्ब रूपैयाँ प्रमुख बाँडेर खाएको भट्टराईको आरोप कुनै सामान्य व्यक्तिप्रति नभइ देशको वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि छ । देशको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष र दोस्रो दल नेपाली कांग्रेसका सभापतिमाथि लगाइएको यति ठूलो आरोप चौतर्फी चासोको विषय बन्नु स्वाभाविकै हो । यस विषयलाई लिएर कतिपयले भट्टराईलाई प्रमाण पेश गर्न आग्रह गरेको छन् भने कतिपयले चर्चामा आउन ‘प्रोपोगान्डा’ गरेको आरोप लगाइरहेका छन् ।



नौ अर्ब भ्रष्टाचार गरेको आरोप आफ्ना पार्टी सभापतिमाथि लागेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विज्ञप्तिमार्फत बौद्धिक व्यक्तित्वमा गनिने भट्टराईले सस्तो टिप्पणी दिएको भन्दै प्रमाणित गर्न चुनौती दिइसकेको छ । तर यस विषयमा सत्तारूढ दल नेकपाका केही नेताहरूले सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेपनि पार्टीले अहिलेसम्म औपचारिक प्रतिक्रिया जनाएको छैन । पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले अर्बौ भ्रष्टाचारको आरोप लगाउँदा पनि पार्टीको तर्फबाट औपचारिक धारणा नआउनुलाई आशंकाको रूपमा हेरिएको छ । यसबीच विवेकशील नेपाली दलले पनि भट्टराईलाई नौं अर्ब भ्रष्टाचारको प्रमाण अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ । पूर्वप्रधानमन्त्रीले तीन शीर्ष नेताहरूमाथि लगाएको आरोपप्रति भ्रष्ट्राचार नियन्त्रणको महत्वपूर्ण अंग मानिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग पनि मौन देखिएको छ ।

‘छानविनमा सघाउँछु’
नेपाली कांग्रेसकोको चुनौति र सामाजिक सञ्जालमा आएका प्रतिक्रियापछि पूर्व प्रधानमन्त्री भट्टराईले आफूले लगाएको आरोपमाथि छानविन गर्न सहयोग गर्ने जनाएका छन् । ‘मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानबिनको माग गर्दछु । त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु’ उनले भनेका छन् ।

‘गैरजिम्मेवार ठहरिनु हुनेछ’
‘भट्टराईले देशका तीन प्रमुख नेताहरूले ९ अर्ब खाएको प्रमाण आफूसँग भएको सार्वजनिक घोषणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज २४ गते एबीसी टीभीमार्फत आग्रह गरेको थिएँ,’ नेकपाका नेता भीम रावलले ट्वीट गर्दै भनेका छन्, ‘त्यसो गरियो कि गरिएन ? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ ।’

सम्बन्धित समाचार