‘हमालको तस्विर र संस्थाको लोगो दुरूपयोग गरी अफवाह फैलाइयो’

अभिनेता राजेश हमाल प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेपछि कार्यक्रम निर्माता समता फाउण्डेसनले प्रष्टीकरण दिएको छ । फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘जातको प्रश्न’ कुनै धर्मविरूद्ध नभएको र कुनै पूर्वाग्रह नराखिएको बताएको छ । कार्यक्रमको मुख्य उद्देश्य नै जातीय विभेद सम्बन्धी घर घरमा संवादको सुरूवात गर्नु रहेको फाउण्डेसनले जनाएको छ ।

समता फाउन्डेसनले कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाहग्रह नराखेको स्पष्ट पारेको छ । संस्थाका अध्यक्ष प्रदीप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं । हाम्रो समाजमा विद्यमान जातीय विभेदको विविध पक्षमा विचार विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पुर्याएको छ ।’ फाउण्डेसनले राजेश हमालको तस्बिर र संस्थाको लोगो दुरूपयोग गरी उनले नबोलेका कुराहरू राखी सामाजिक संजालमा अवफाह फैलाइएको बताएको छ ।



‘जातको प्रश्न’ कार्यक्रमले क्रिश्चिनय संस्थाको लगानीमा हिन्दू विरोधी कार्यक्रम निर्माण गरेको भन्दै उक्त कार्यक्रमको केही दिनयता विरोध भइरहेको छ । ‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अभिनेता हमालकोसमेत आलोचना भएको छ । राजेश हमाल नायक भएर पनि कार्यक्रममार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दू समाजसँग माफी माग्नुपर्ने अवाजसमेत उठेको छ । सामाजिक संजालमा कार्यक्रमको चर्काे विरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा जम्मा भएका हिन्दू समर्थकहरूले हमालको पुत्ला जलाउदै विरोधसमेत गरेका थिए ।

सम्बन्धित समाचार