
प्रधानमन्त्री केपी ओलीलेमन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठनमा तीनजना मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बिहान भएको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
जसअनुसार महासचिव विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएका छन् भने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ सहरी विकास तथा लीलानाथ श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका छन् । तीनवटै मन्त्रालय लामो समयदेखि रिक्त थिए । पौडेल रुपन्देही, कृष्णगोपाल काठमाडौं र लीलानाथ सिराहाबाट निर्वाचित सांसद हुन् ।
त्यस्तै, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाइएको छ । उनलाई उपप्रधानमन्त्री यथावत् रहने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी तोकिएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओली आफैँले राखेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । तत्कालीन मन्त्री गोकुल बाँस्कोटाले गत फागुनमा राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त थियो ।
