आज पनि भेट्न पाएनन् कर्णालीका नेताहरुले प्रधानमन्त्रीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले समय नदिँदा कर्णाली प्रदेशसभाका नेताहरूसँग छलफल हुन सकेको छैन । कर्णाली प्रदेशका नेकपा दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वास प्रस्ताव ल्याएपछि चुलिएको विवाद समाधान गर्न प्रदेशका नेताहरूलाई अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं बोलाएका थिए।

तर, काठमाडौं आएको दुई दिन बितिसक्दासमेत प्रधानमन्त्री ओलीले समय नदिएपछि छलफल हुन नसकेको एक सांसदले बताए। उनले भोलि पनि छलफल नभए आफूहरुले सुर्खेत फर्कने तयारी गरिरहेको जानकारी दिए। ‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसहित प्रदेशका नेताहरूबीच आज पनि छलफल भएन, नेताहरूको समय नमिलेर होला, भोलि पनि बोलाइएन भने हामी फर्कन्छौँ’, ती सांसदले भने।



उनले छलफलका लागि भोलि बोलाउने भन्ने सुन्नमा आएको भन्दै भोलि पनि छलफल नभए आफूहरु फर्किने बताए। यसबीच कार्यकारी अध्यक्ष प्रचण्डले शुक्रबार अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने सांसद यामलाल कँडेल र गुलाबजंग शाहसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका छन्। उक्त छलफलमा अविश्वास प्रस्ताव ल्याउनुपर्ने कारण र त्यसले पार्ने असरको बारेमा प्रचण्डले चासो राखेका थिए।

सांसद कँडेलले पार्टीको कुरा सुनुवाइ नगरेर एकलौटी गरेको, भ्रष्टाचार बढेको र समग्रमा पार्टी कै छवि बिग्रने काम भएको भन्दै सच्याउन माग गर्दा सुनुवाइ नभएपछि अविश्वासको प्रस्ताव ल्याउनु परेको अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए।

प्रचण्डले बुधबार वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाल पक्षका नेता तथा सांसदहरूसँग विवादका बारेमा जानकारी लिएका थिए।

सम्बन्धित समाचार