ओली-प्रचण्डबीच बोलचालै बन्द, चैतमा महाधिवेशन हुनेमा आशंका

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बोलचालै बन्द भएको छ । मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावले विवाद चुलिंदै जाँदा अध्यषद्वयबीच बोलचालै बन्द भएको हो । ओलीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नै समूहका नेतामात्र समावेश गरेपछि प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल रुष्ट बनेका हुन् । त्यसअघि राजदूत नियुक्तिमा पनि उनले युवराज खतिवडा र लोकदर्शन रेग्मीलाई सिफारिस गरेर पार्टीभित्र विवाद निम्त्याएका ओलीले एकलौटी मन्त्रिपरिषद् विस्तार गरेर विवादको आगोमा घिउ थप्ने काम गरेका थिए ।

अध्यक्षद्वयबीच पटक पटकको विवादले गर्दा पार्टी एकताका काम अलपत्र परेका छन् । गत भदौ २६ सम्पन्न स्थायी कमिटी बैठकले आजसम्म नेकपाको पार्टी एकताका बाँकी काम टुंग्याउनु पर्ने समयसीमा तोकेको थियो । समय तोकेरै पार्टी एकता प्रक्रिया टुंग्याउनेबारे तेस्रो पटक दिइएको समयसीमा नाघेको छ । एकताको बाँकी काम टुङ्ग्याउने जिम्मेवारी अध्यक्षद्वयलाई दिइएकोले उनीहरुबीचको विवादले पार्टी एकता धरापमा पर्ने अवस्था आएको नेकपा दोस्रो तहका नेताहरूले आरोप लगाउने गरेका छन् ।



अध्यक्षद्वयबीचको मनमुटावको असर पार्टीका अन्य नेताहरुमा पनि देखिन थालेको छ । कर्णाली विवादका बारेमा छलफल गर्न काठमाडौं आएको टीमसँग ओलीले ३ दिनसम्म वार्ताको लागि समय नै दिएका छैनन् । ओलीले आज पनि वार्ताको समय नमिलाए उनीहरु जिल्ला फर्किने तयारीमा छन् ।

महाधिवेशन प्रभावित होला ?
चैतको पहिलो हप्ता गर्ने भनिएको महाधिवेशन पार्टी विवादको कारण प्रभावित हुने देखिएको छ । पछिल्लो समझदारीअनुसार ओलीले पाँच वर्षे कार्यकाल सरकार चलाएवापत उनले महाधिवेशनमा अध्यक्षको दाबी नगर्ने ओली प्रचण्डबीच मौखिक समझदारी भएको थियो । तर पछिल्लो विवादले ओली उक्त समझदारीबाट पछि हटेमा महाधिवेशहन नै प्रभावित हुन सक्ने स्रोतले बतायो ।

प्रचण्डले आफू एकल अध्यक्षको उम्मेद्वार नभएमा महाधिवेशन सार्नसक्ने र यता ओलीले पनि आफ्नो प्रधानमन्त्रीको कार्यकाल सुनिश्चित नभएमा अध्यक्षमै दाबी गर्ने अवस्था रहेकोले नेकपा महाधिवेशन चैतमा हुनेमा आशंका उब्जिएको छ । साथै पार्टी एकताले नै पूर्णता नपाएकोले चैतमै महाधिवेशन हुनेमा आशंका कायमै छ ।

प्रचण्ड–नेपाल थप रणनीति तय गर्दै
ओलीले मन्त्रिपरिषद् विस्तारमा एकलौटी निर्णय गरेपछि प्रचण्ड र नेपाल उनीविरुद्ध थप रणनीति तय गर्न जुटेका छन् । दशैंपछि मन्त्रिपरिषद्मा व्यापक फेरबदल गर्न दवाव दिने उनीहरूको तयारी छ । हाल कोरोनाको प्रभाव बढिरहेकोले दशैंपछि स्थायी कमिटी बैठक बोलाएर व्यापक हेरफेरको लागि दवाव दिने उनीहरूको तयारी रहेको छ ।

ओली पार्टीको पछिल्लो सहमतिबाट पछि हटेकोले उनलाई प्रधामन्त्रीबाट फिर्ता बोलउने एजेण्डा दशैंपछि फेरि बिउँझाउने प्रचण्ड नेपाल समूहको तयारी रहेको छ । उनीहरूको तयारी हेर्दा नेकपाको विवाद आगमी दिनमा थप चर्कने देखिएको छ ।

सम्बन्धित समाचार