नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

कोरोना भाइरस संक्रमणबाट बुटवल उपमहानगरपालिका–८ मा कार्यरत नायव सुब्बाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल पुर्याउँदा भेन्टिलेटर नपाएपछि उनको मृत्यु भएको हो ।
४९ वर्षीय नायव सुब्बा कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थिए । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा भेन्टिलेटर नभएपछि उपचार नपाएरै उनको मृत्यु भएको बताइएको छ ।
नायव सुब्बाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै उपमहानगरपालिकाले सोमबारदेखि अत्यावश्यक काम बाहेक अन्य सेवा बन्द गर्ने निर्णय समेत गरेको छ ।
