नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले यो वर्षको दशैंभत्ता सरकारलाई फिर्ता गर्न नेपाली कांग्रेसले निर्देशन दिएको बताए । नेता खाँणले भने, ‘फिर्ता गरिएको रकम कोभिड नियन्त्रण र जनताको उपचारमा सरकारले खर्च गरोस् भन्ने नेपाली कांग्रेसको आग्रह छ ।’
सरकारले पछिल्लो पटक पीसीआर परीक्षण आफैं गर्न भनेकोमा पनि नेपाली कांग्रेसले विरोध गरेको छ । जनताको ज्युधनको सुरक्षा गर्ने दायित्व सरकारको हुने भन्दै कांग्रेसले यो दायित्वबाट सरकार पन्छिन नमिल्ने जनाएको छ ।
