नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भित्रभित्रै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीविरूद्ध मोर्चाबन्दी भैरहेको खुलाशा भएको छ । यसपटकको मोर्चाबन्दी निर्णायक बनाउनेमा ओलीइतरका शक्तिहरू एकजुट भएको स्रोतको दाबी छ । यसअघि भएको मोर्चाबन्दीमा नेकपा उपाध्यक्ष वामदेव गौतमले काँध फेर्दा निर्णयक बन्न सकेको थिएन । यसपटक भने स्वयं गौतम नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई ओलीविरूद्ध निर्णयक संघर्ष गर्नुपर्ने भन्दै तातेको र प्रचण्ड र नेपाल पनि ओलीबाट नेकपाको भविष्य खतरामा रहेको निष्कर्षमा पुगेकोले उनीहरू दशैंपछि ओलीसँग निर्णायक वार्ता गर्ने भएका छन् ।
उनीहरूबीच ओली पार्टी फुटाउने हदसम्म पुगे पनि पछाडि नहट्ने सहमति भएको बताइन्छ । ओलीकै पारामा अगाडि बढ्दै जाने हो भने निर्वाचनमा बढारिइने र बरू ओलीले पार्टी फुटाए पनि त्यसको अपजस उनै ओलीलाई दिएमा निर्वाचनमा जनताको मन जित्न सकिने निष्कर्षमा ओलीइतरका समूह पुगेका हुन् । उनीहरू दशैंपछि सचिवालय बैठक बोलाएर सचिवालयमार्फत नै ओलीलाई सरकारबाट फिर्ता बोलाउने र ओली लचिलो भएर सुध्रन तयार भएमा आफूअनुकूल मन्त्रिपरिषद् बनाएर सरकारलाई गाइड गर्ने एक संयन्त्र पार्टीभित्र गठन गरेर ओलीलाई नत्थी लगाएर मात्र प्रधानमन्त्रीको कुर्सीमा रहन दिने तयारी भैरहेको छ ।
नौ सदस्यीय नेकपा सचिवालयमा ओलीको पक्षमा विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा गरी ३ जना मात्र रहेका छन् । ओली स्वयंसहित ४ जनामात्र सचिवालयमा ओलीको पक्षमा हुनेछन् । अन्य ६ जना नै ओलीइतरको समूहलाई समर्थन गरेकोले सचिवालयको सामना गर्न ओलीलाई फलामको चिउरा चपाएसरी हुने निश्चित छ । त्यसो त स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि अल्पमतमा रहेकोले ओलीले सचिवालयकै सामना गर्नुको विकल्प छैन । सचिवालयले सरकारबाटै फिर्ता बोलाउने निर्णय गरेमा ओलीले पार्टी फुटाउने विकल्पमा जाने सम्भावना देखिन्छ । त्यसो भएमा पनि ओलीलाई पुनः प्रधानमन्त्री बन्न नसक्ने वातावरण तयार पार्न प्रचण्ड नेपाल लागिपरेका छन् । विभिन्न स्रोतमार्फत कांग्रेस र राजपासँग वार्ता गरिरहेका उनीहरूले दशैंपछाडि सरकार परिवर्तन भएको अवस्थामा सरकारमा जान तयार रहन जसपालाई आग्रह गरेको स्रोतले बतायो ।
वामदेवलाई हात लिन नसक्नु ओलीको लागि दुर्भाग्य
पार्टी फुट्ने देखिएपछि वामदेवले अघिल्लो विवाद उत्कर्षमा पुगेकै बेलामा ६ बुँदे घोषणापत्र सार्वजनिक गर्दै ओलीको कित्तामा उभिएर ओलीको बचाउ गरेका थिए । गौतमको ६ बुँदेले तत्काल पार्टी फुट्नबाट मात्र बचाएन, पार्टी महाधिवेशनको आधार पनि तयार गर्यो । तर आफ्नो स्वार्थपूर्ति भएपछि गौतमलाई लत्याएका ओलीलाई सो निर्णय महंगो पर्ने देखिएको छ ।
नेता गौतमले राष्ट्रियसभामा जान चाहेको बेलामा ओलीले विभिन्न बाहना बनाएर रोक्न खोजेपछि गौतम ओलीसँग बिच्किएका थिए । पार्टीकै करकापमा राष्ट्रियसभामा सिफारिस भएपछि पनि ओलीकै इशारामा अदालतमा मुद्दा हालिएको आरोप गौतमले लगाउँदै आएका छन् । गौतमलाई फकाउन ओलीले थप्ने ३ मन्त्रीमा गौतम पत्नी तुलसा थापालाई मन्त्री बनाउने आश्वासन दिएका थिए । तर ओलीले त्यो वाचा पनि पूरा नगरेपछि गौतम ओलीसँग थप रूष्ट बन्दै आएका छन् ।
गौतम रूष्ट मात्र बनेका छैनन्, ओलीविरूद्ध निर्णयक संघर्ष गर्ने भन्दै प्रचण्ड नेपाल समूहलाई उचालिरहेका छन् । गौतमकै कारण एकपटक शंकटमोचन गरेका ओलीले यसपटकको शंकट मोचन गर्न कस्तो कदम चाल्नेछन्, त्यो दशैंपछि नै थाहा हुनेछ ।
