नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

मन्त्रिपरिषद्को नियमित बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आजको बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले दशैंमा पाउने भत्ता कोरोना नियन्त्रण तथा उपचार कोषमा दाखिला गर्ने निर्णय गर्ने तयारी भैरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे प्रस्ताव राख्न लागेका हुन् ।
साथै मन्त्रिपरिषदले सबै तहका सरकारलाई यस वर्षको दशैं भत्ता कोरोना कोषमा दाखिल गर्न अनुरोध गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । दुई दिनअघि नै लुम्बिनी प्रदेश सरकारले आफ्ना मन्त्रीहरुले पाउने दशैं भत्ता कोरोना कोषमा खर्च गर्ने निर्णय गरिसकेको छ ।
साथै प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय सरकारहरुलाई पनि दशै भत्ता कोषमा खर्च गर्न आह्वान गरिसकेको छ । नेपाली कांग्रेसले पनि आफ्ना सांसदहरुले पाउने भत्ता नलिने निर्णय गरिसकेको छ ।
