नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ कात्तिक ।

सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । उनले सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले गरेको निर्णयलाई सुझबुझपूर्ण भन्दै धन्यवाद पनि दिए ।
सभामुख सापकोटाले सोमवार विज्ञप्ति जारी गरी देशको आर्थिक अवस्था संकटपूर्ण रहेको वर्तमान अवस्थामा यस कदमले कोरोना प्रकोप नियन्त्रण गर्ने सरकारको अभियानमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
साथै उनले आफूलाई प्राप्त चाडपर्व खर्च पनि कोरोना कोषमा उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी गराएका छन् । देश संकटपूर्ण अवस्थामा रहेको बेला गत सालकै निर्णयका आधारमा सांसदलाई दशैं भत्ता बाँडिएको भन्दै चौतर्फि विरोध भएपछि सरकारका मन्त्रीहरुले पनि भत्ता नलिने भएका छन् ।
