
सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि थप अनुसन्धान नहुने भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बाँस्कोटामाथि थप छानविन गर्न पर्याप्त प्रमाण नपुगेको बताएको छ ।
अख्तियारले संसदको सार्वजनिक लेखा समिति एक पत्र पठाउँदै बाँस्कोटा माथि अनुसन्धान गर्न आवश्यक पर्ने प्रमाण फेला नपरेको जानकारी गराएको छ। अख्तियारले पठाएको पत्रमा विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नभएको उल्लेख गरिएको छ।
घुस मागेका भनिएका बाँस्कोटासँग पटक-पटक बयान लिइएपनि मिश्रसँग भने पूर्ण बयान लिन नसकिएको अख्तियारले पत्रमा उल्लेख गरेको छ। मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारको छ।
लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु पर्ने केहि विषयहरुमा अख्तियारको ध्यानाकर्षण गराएको थियो। जस बारे स्पष्ट पार्न पत्र पठाउँदै अख्तियारले समिति बनाएर अनुसन्धान भइरहेको जानकारी गराएको छ।
